
विन्ध्यवासिनी हाइड्रोपावरको शेयर कारोबार फुकुवा, नेप्सेद्वारा सचेत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको शेयर कारोबार फुकुवा गरेको छ। सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो।
नेप्सेका अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई लाभांश दिने प्रस्तावसम्बन्धी सञ्चालक समितिको बैठक २०८३ असोज २६ गते दिउँसो ३:३० बजे बसेको जानकारी दिएको थियो। उक्त जानकारी असोज २७ गते साँझ ५:५९ बजे नेप्सेको नोट्स (NOTS) प्रणालीमार्फत गराइएको थियो।
तर, कम्पनीले नेप्सेमा पेस गरेको लिखित जवाफमा सञ्चालक समितिको बैठक २०८३ असोज २७ गते दिउँसो ३:३० बजे बसेको हुनुपर्नेमा मानवीय त्रुटिका कारण मिति फरक उल्लेख भएको जनाएको थियो। कम्पनीले बैठकको निर्णयको प्रमाणित प्रतिलिपिसहित नेप्सेमा स्पष्टीकरण पेस गरेको थियो।
यस घटनापछि नेप्सेले कम्पनीलाई आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ तथा सूचीकरणसम्बन्धी सम्झौताका सर्त पूर्ण रूपमा पालना गर्न सचेत गराएको छ। साथै, रोक्का रहेको कम्पनीको धितोपत्र कारोबार फुकुवा गरिएको जानकारी नेप्सेले दिएको छ।



