
विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार उक्त सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
अमेरिकी डलरमा उक्त सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । २०८३ भदौसम्मको तथ्याङ्कअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ ।
यस अवधिमा मुलुकको चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । यसले बाह्य क्षेत्रको समग्र अवस्थामा बचत कायम रहेको देखिएको छ भने चालु आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । वार्षिक बिन्दुगत आधारमा नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको छ ।


