
दुई महिनामा निर्जीवन बीमाको व्यवसाय २०.९७ प्रतिशतले बढ्यो, जीवन बीमातर्फ ४ खर्ब ५ अर्ब नाघ्यो
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्तसम्म) बीमा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले भदौ मसान्तसम्म कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी कम्पनीहरूले ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय २०.९७ प्रतिशतले बढेको देखिन्छ।
यता,१४ वटा जीवन बीमा कम्पनीहरूले भदौ मसान्तसम्म कुल ४ खर्ब ५ अर्ब १४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी कम्पनीहरूले ३ खर्ब ५२ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा जीवन बीमा व्यवसाय १५.०१ प्रतिशतले बढेको छ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरू मध्यै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ संकलन गरेको थियो। त्यस्तै शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ जुन गत वर्षको ८४ करोड ८२ लाख रुपैयाँभन्दा बढी हो।
एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ६८ करोड ७५ लाख रुपैयाँ थियो। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ, जबकि गत वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड १७ लाख रुपैयाँ संकलन गरेको थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८९ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ७७ करोड ३३ लाख रुपैयाँ थियो। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको ६२ करोड ९१ लाख रुपैयाँभन्दा बढी हो।
यता, १४ वटा जीवन बीमा कम्पनी मध्यै, बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको साउन र भदौमा १० अर्ब ५८ करोड आठ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले नौ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो। यससँगै कम्पनीको बीमाशुल्क आर्जन ९.२७ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा चार अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले तीन अर्ब ९८ करोड ३२ लाख रुपैयाँ सङ्कलन गरेको थियो। यसअनुसार कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेको छ।


