
सांसद खगेन्द्र सुनारको विवादित विषयमा छानबिन गर्न रास्वपाको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील रहेको पार्टीले जनाएको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको छ।
यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइिसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।
सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने पार्टीले विश्वास व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धतासमेत जनाइएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ रहेको र राज्यको स्वतन्त्र अनुसन्धान तथा पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने पार्टीले प्रस्ट्याएको छ।


