
कम्पनी ऐन, २०६३ को दफा ५० कार्यान्वयन बिना तयारी भयो : संघ
काठमाडौं। नेपाल सेयरबजार लगानीकर्ता संघले कम्पनी ऐन, २०६३ को दफा ५० कार्यान्वयन बिना तयारी भएको बताएको छ । संघले सेबोनलाई पत्र पठाउँदै दफा ५० कार्यान्वयनका कारण सेयरबजारका लगानीकर्तामा नकारात्मक असर परेको गुनासो बढेको उल्लेख गर्दै बिना तयारीको परिणाम भएको जनाएको हो ।
बोर्डलाई ध्यानाकर्षण गराउँदै कानूनी प्रावधानको पालना गर्नुपर्ने भए पनि करिब २० वर्षसम्म कार्यान्वयन नभएको व्यवस्था बिना पर्याप्त तयारी र प्रभाव मूल्यांकन हठात् लागू गरिएको संघको भनाइ छ । सेबोनले २०८३ भदौ ९ गते चलानी नम्बर ४९९ को पत्रमार्फत सबै सूचीकृत कम्पनीलाई कम्पनी ऐनको दफा ५० को प्रावधान पालना गर्न निर्देशन दिएको संघको पत्रमा उल्लेख छ ।
विद्यमान कानून कार्यान्वयन नगर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट संकेत गरेको छ । कम्पनी ऐनमा रहेको व्यवस्था संघीय संसदबाट संशोधन वा खारेज नभएसम्म तथा संविधानसँग बाझिएको अवस्थामा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बदर घोषित नभएसम्म प्रचलित कानूनका रूपमा पालना गर्नुपर्ने संघको धारणा छ ।
नेपालको संविधान र कानूनको पालना गर्नु नागरिकको कर्तव्यसमेत भएकाले विद्यमान कानूनी व्यवस्था सोहीअनुसार कार्यान्वयन गर्नु उपयुक्त हुने संघले जनाएको छ ।
के छ कम्पनी ऐनको दफा ५० मा ?
कम्पनी ऐन, २०६३ को दफा ५० ले ‘आधारभूत सेयरधनी’को परिभाषा र उनीहरूले पालना गर्नुपर्ने विवरणसम्बन्धी व्यवस्था गरेको छ । सामान्यतः पब्लिक कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत वा सोभन्दा बढी पूर्ण मताधिकारयुक्त साधारण सेयर धारण गर्ने व्यक्ति आधारभूत सेयरधनी मानिन्छ । तर, चुक्ता पूँजी २५ करोड रुपैयाँभन्दा बढी भएको कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भए पनि आधारभूत सेयरधनीको हैसियत कायम हुन्छ ।



