
पुस्तक बेच्ने राजेश गजुरेल बने प्रकाशक, पुस्तक सार्वजनिक गर्न सफल
काठमाडौं। राजधानीस्थित न्युरोडमा पुस्तक बेच्ने राजेश गजुरेल अब पुस्तकको बिक्रीवितरणमा मात्र सिमित छैनन । उनले प्रकाशकका रूपमा पनि अगाडि बढ्दै तीन नयाँ पुस्तक सार्वजनिक गरे।
शानिवार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीस्थित पारिजात कक्षमा आयोजित कार्यक्रममा गजुरेलको प्रकाशनबाट रुपक अधिकारी ‘फकिर’को उपन्यास ‘लाटो क्यानभास’, पविन दाहालको ‘रातो अभिलेख’ र युसन बस्नेतको ‘कुमारित्व’ सार्वजनिक गरिएको जनाइएको छ ।
त्यस्तै, न्युरोडको सालिक चोकबाट केही अगाडि एउटा सानो गल्लीमा रहेको न्युरोड बुक्स स्टोर लामो समयदेखि पुस्तकप्रेमीहरूको रोजाइको थलोका रूपमा परिचित रहेको बताइएको छ।
यता, सोहि स्टोरमा नेपालका विभिन्न स्थानबाट मात्र नभई विश्वका विभिन्न कुनाबाट समेत पुस्तकका लागि अर्डर आउने गरेको बेलामा अर्डरअनुसार पुस्तक विभिन्न स्थानमा डेलिभरी हुने तथा दैनिक सयौं पुस्तकप्रेमी उनको स्टोरमा पुग्ने बताइएको छ ।
हाल कार्यक्रममा सार्वजनिक गरिएको ‘लाटो क्यानभास’का लेखक रुपक अधिकारी ‘फकिर’ यसअघि ‘साढे ३ हत्या’ उपन्यासका लेखक हुन् भने उनको ‘आधा मण्डप’ उपन्यास यसअघि रिड एन्ड राइज प्रकाशनबाट प्रकाशित भइसकेको हो।
कार्यक्रमको सञ्चालन भीमबहादुर साउदले गरेका थिए भने न्युरोड बुक्स स्टोरका सञ्चालक राजेश गजुरेलले कार्यक्रमको सभापतित्व गरेका थिए। कार्यक्रममा कवि तथा उपन्यासकार श्रवण मुकारुङ, सुमन स्मारिका, युनिसा सत्याल, डा. नवराज केसी, उमा सुवेदी लगायतका वक्ताले पुस्तक, साहित्य र नयाँ सर्जकको सम्भावनाबारे धारणा राखेका थिए।
कार्यक्रममा साहित्य क्षेत्रसँगै चलचित्र तथा रंगमञ्च क्षेत्रका व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। मंसिर ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’का निर्मातामध्ये एक अमिर केसी, ‘जुलेबी’का निर्माता तथा ‘फिरफिरे फिरिरी’का निर्देशक नवीन भट्ट, कलाकार तथा रंगकर्मी रमिला मोक्तान लगायतको उपस्थिति थियो। विभिन्न रिडर्स बुक्सका सञ्चालक तथा पुस्तकप्रेमीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
न्युरोड बुक्स स्टोरबाट सार्वजनिक भएका तीनवटै पुस्तक आजदेखि बजारमा उपलब्ध भएका छन्। त्यस्तै, पाठकले न्युरोड बुक्स स्टोरबाट प्रत्यक्ष रूपमा पुस्तक किन्न सक्नेछन् भने स्टोरको सामाजिक सञ्जालमार्फत समेत अर्डर गर्न सकिने सुनाइयो।
गजुरेलको यात्रा अहिले प्रकाशनसम्म आइपुगेको बेलामा पुस्तकसँगै ज्ञान बाँड्ने र नयाँ सर्जकलाई आफ्नो सिर्जनाका लागि ठाउँ दिने उद्देश्य बोकेका गजुरेलका लागि एकैदिन तीन पुस्तक प्रकाशनमा ल्याउनु उनको यात्राको अर्को महत्वपूर्ण अध्याय बनेको अवस्था छ ।


