
गैंडा कप २०२६ : पहिलो दिन चार रोमाञ्चक खेल सम्पन्न
चितवन । चितवन राइनोजको आयोजनामा सुरु भएको गैंडा कप २०२६ अन्तर्गत पहिलो दिन बुधबार चार प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्। उद्घाटन दिन विभिन्न टोली तथा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
पहिलो खेलमा इस्टर्न क्रिकेट एकेडेमीले काठमाडौं क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गरेको छ। ECA ले निर्धारित खेलमा १११ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको KCA ले ९ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सकेपछि ECA विजयी भएको हो। ECA का रोजिन झाले ३२ रन बनाउँदै प्लेयर अफ द म्याचको उपाधि हात पारे।

दोस्रो खेलमा इस्टर्न क्रिकेट एकेडेमी एले ग्रेट हिमालयन क्रिकेट एकेडेमी, साम्टिङपुरलाई ९ रनले पराजित गरेको छ। ECA–A ले ७७ रन बनाएको थियो भने GHCA ले ६९ रनमै आफ्नो इनिङ समाप्त गरेको थियो। GHCA का निशचल केसीले १६ रन बनाउँदै ४ विकेट लिएको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि उनलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो।

तेस्रो खेलमा भक्तपुर क्रिकेट क्लबले CEC भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ। CEC भक्तपुरले ९.२ ओभरमा ४१ रनमै अलआउट भएको थियो। जवाफमा BCC ले ५.३ ओभरमा ४ विकेट गुमाउँदै ४२ रन बनाएर लक्ष्य पूरा गरेको हो। BCC का ओमकार पन्तले २ ओभरमा ३ विकेट लिएपछि प्लेयर अफ द म्याच घोषित भए।
दिनको अन्तिम खेलमा चितवन ट्रेनिङ सेन्टरले CEC बालुवाटारलाई ८ विकेटले पराजित गरेको छ। CEC बालुवाटारले १० ओभरमा ७६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको CTC ले ८ ओभरमै ७८ रन बनाउँदै लक्ष्य पूरा गर्यो। CTC का अभय यादवले २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिएपछि प्लेयर अफ द म्याच बने।

पहिलो दिनका चार खेल सम्पन्न भएसँगै गैंडा कप २०२६ को दोस्रो दिन अक्टोबर १ मा थप चार खेल हुनेछन्। दोस्रो दिनको पहिलो खेल बिहान ८ बजे इस्टर्न क्रिकेट एकेडेमी र हेटौँडा स्पोर्ट्स एकेडेमीबीच हुनेछ। बिहान १० बजे इस्टर्न क्रिकेट एकेडेमी ए र BCA बीच दोस्रो खेल हुनेछ।
त्यस्तै, दिउँसो १२ बजे भक्तपुर क्रिकेट क्लब र GHCA (हाकीविङ) बीच तेस्रो खेल तथा दिउँसो २ः१५ बजे चितवन ट्रेनिङ सेन्टर र PGNS स्पोर्ट्स क्रिकेट एकेडेमीबीच चौथो खेल हुनेछ।


