
नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु नै पुँजी बजार सुधारको पहिलो सर्त हो : सभापति रेग्मी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याउनु नै पुँजीबजार सुधारको पहिलो सर्त भएको बताएको नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
रेग्मीले बजार सुधारका लागि नीतिगत स्पष्टता र संस्थागत लगानीकर्ताको भूमिकालाई बलियो बनाउनुपर्नेमा जोड दिए । अर्थ मन्त्रालय र धितोपत्र बोर्डले अघि सारेको २१ बुँदे पुँजीबजार सुधारका कार्ययोजनालाई सकारात्मक भएको भन्दै यी सुधारका कदमहरू ढिला गरी आएकाले बजारमा सकारात्मक प्रभाव देखिन अझै केही समय लाग्ने उनको भनाइ छ ।
आईपीओमा बुक बिल्डिङ विधिलाई अगाडि बढाउने भन्दा योग्य संस्थागत लगानीकर्ताको दायरा बढाउनु आवश्यक रहेको रेग्मीको भनाइ छ । ‘हामी संस्थागत लगानीकर्ता बढाउने भनिरहेका छौं, तर लाभकर व्यक्तिगतमा ३.७५ प्रतिशतमा आउँदा संस्थागततर्फ २५ प्रतिशत तिर्नुपर्छ । बजार सुधारका लागि यसलाई घटाउनुपर्ने हुन्छ,’ उनले भने । रेग्मीले आईपीओ जारी गर्ने कम्पनीले आफ्नो रणनीतिक साझेदार र लगानीकर्ता को हुन् भन्ने कुरा स्पष्ट पार्नुपर्ने समेत बताए । ‘आईपीओ जारी गर्ने प्रयोजन स्पष्ट हुनुपर्छ । बुक बिल्डिङमा जाँदा त्यसको प्रोजेक्ट रिपोर्ट (प्रक्षेपण) सही छ कि छैन, त्यो योग्य संस्थागत लगानीकर्ता वा बुक विल्डरले हेर्नुपर्छ,’ उनले भने ।
उनले सेयरको लकिङ पिरियडलाई चरणबद्ध रूपमा मात्र खोल्नुपर्ने धारणा राखे । संस्थापक सेयर बिक्रीका सन्दर्भमा रेग्मीले १५ दिन अघि नै सूचना दिने हालको व्यवस्था ठिक भएको उल्लेख गरे । ‘अहिलेको १ प्रतिशतको सीमालाई बढाएर ५ देखि ७ प्रतिशत पु¥याउनुपर्छ । कम्पनी चलाउने रणनीतिक लगानीकर्ता बाहिरिँदै छन् भने त्यसको जानकारी आम लगानीकर्ताले पाउनुपर्छ,’ उनले भने ।


