
जोखिम र सुशासनमा आधारित नियमन प्रणाली लागू गर्दैछौँ : अध्यक्ष डा. भट्ट
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन बोर्डले जोखिम र सुशासनमा आधारित नयाँ नियमन रणनीति अङ्गीकार गरेको बताएका छन् । प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष डा. भट्टले बजारलाई आधुनिक बनाउन आवश्यक संस्थागत संरचना र प्रणालीगत सुधार अघि बढाइएको बताएका हुन् ।
डा. भट्टले दोस्रो बजारमा सेयर तथा डेरिभेटिभ उपकरणहरूको खरिद–बिक्री सुनिश्चितताका लागि सेन्ट्रल काउन्टर पार्टी अपरिहार्य भइसकेको समेत बताए । ‘किन्ने र बेच्नेको बीचमा ग्यारेन्टी बस्ने सीसीपी जस्तो संस्था नेप्सेले छुट्टै बनाउनुपर्छ वा सिडिएससीलाई नै पूर्वाधार विकास गरी जिम्मेवारी दिनुपर्छ,’ उनले भने, ‘यसका लागि सिडिएससीको क्षमता विकास गर्न बोर्डले अध्ययन र तयारी गरिरहेको छ ।’
अध्यक्ष भट्टले अर्थतन्त्र र पुँजीबजारको स्थायित्वका लागि बोर्डले चारवटा मुख्य सिद्धान्तमा आधारित भएर नीतिगत सुधार गरिरहेको स्पष्ट पारे । उनले जोखिममा आधारित सुपरीवेक्षण गरेको बताए । उनका अनुसार अब अन्तर्राष्ट्रिय अभ्यास अनुसार जुन क्षेत्रमा बढी जोखिम छ, त्यहीँ कडा नियमन र सुपरीवेक्षण गरिनेछ । ‘सर्वसाधारणको पुँजी परिचालन गर्ने भएकाले बलियो सुशासन भएका कम्पनीलाई मात्र पुँजीबजारमा आउन दिइनेछ । कर्णाली डेभलपमेन्ट बैंकको उदाहरण दिँदै निक्षेपकर्ताको जोखिम शेयर लगानीकर्तामा सार्न नदिन राष्ट्र बैंकसँग समन्वय भइरहेको छ,’ उनले भने ।


