
संस्थापकको ‘आईपीओ खेती’ र नियमन कमजोर हुँदा जोखिम बढायो : घनश्याम पाण्डे
काठमाडौं । नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बजारको वर्तमान दुरावस्थाका लागि संस्थापक लगानीकर्ताहरूको ‘आईपीओ खेती’ गर्ने प्रवृत्ति र कमजोर नियामक मुख्य जिम्मेवार रहेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।
उनले लगानीकर्ताहरूले जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा देखिएको हकप्रद सेयरको बाढी र त्यसले निम्त्याएको आपूर्ति व्यवस्थापनको चुनौतीबारे ध्यानाकर्षण गराए । तीन वर्षको लकिङ अवधि पूरा नहुँदै वा भर्खर खुल्नासाथ संस्थापक सेयर बिक्री गर्ने परिपाटीले दोस्रो बजारमा ‘भोटेकोशीको बाढी’ भन्दा बढी जोखिम निम्त्याएको पाण्डेले टिप्पणी गरे । ब्रोकर सेवामा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै लगानीकर्ताहरूले मार्जिन लेन्डिङ र अटोमेसनको सुविधा अझै व्यावहारिक हुन नसकेको उनले बताए । उनले १ लाखको डिपोजिटमा ४ लाखको लिमिट पाउनुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा त्यो प्राप्त गर्न संघर्ष गर्नुपर्ने बाध्यता रहेको सुनाए ।
‘पुँजी बजारको दोस्रो बजारलाई व्यवस्थित, पारदर्शी र संस्थागत बनाउन अर्थ मन्त्रालयले अघि सारेको कार्ययोजनाप्रति धन्यवाद व्यक्त गर्दछौं । आईपीओ निष्कासनसम्बन्धी धितोपत्र बोर्डको प्रस्तावित निर्देशिकाप्रति पनि समर्थन छ । तर दोस्रो बजार निरन्तर कमजोर हुनु र लगानीकर्ताको विश्वास घट्नु गम्भीर विषय हो। सीमित सेयर बजारमा ल्याएर मूल्य प्रभावित गर्ने, लकिङ अवधि सकिएपछि ठुलो मात्रामा प्रमोटर सेयर बिक्री हुने तथा हकप्रद सेयरको अत्यधिक आपूर्ति हुने प्रवृत्तिमा नियामक निकायले प्रभावकारी निगरानी गर्नुपर्छ,’ उनले भने ।
उनले १० कित्ताको नीतिले बजार बिगारेको भन्ने तर्कलाई अस्वीकार गर्दै यसलाई साना लगानीकर्ताको पहुँच विस्तार गर्ने माध्यमका रूपमा बचाउ गरे । बजारलाई जुवाका रूपमा नहेरी लगानीकर्ताको संरक्षणका लागि बैंक तथा बिमा क्षेत्रजस्तै छुट्टै कानुनी व्यवस्थाको खाँचो रहेको र नीति निर्माण गर्दा सरोकारवालासँग समन्वय गर्नुपर्ने कुरामा जोड दिइएको छ ।


