
लाभांश प्रस्ताव पारित गर्दै सकियाे आइसीएफसी फाइनान्सकाे साधारणसभा
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको फाइनान्सले जनाएको छ। उक्त लाभांशमा नगद लाभांशबापत लाग्ने करसमेत समावेश छ।
फाइनान्सका अनुसार साधारण सभाबाट पारित नगद लाभांश मंगलबार नै सेयरधनीहरूको सम्बन्धित खातामा जम्मा गरिनेछ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ। साधारण सभा अपराह्न १२:३० बजे सम्पन्न भएको कम्पनीले जनाएको छ। एक अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले हाल २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ।
संस्थाका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ।


