
पोर्चुगलको लगातार दोस्रो जित
काठमाडौं । यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। नर्वेका गोलरक्षक ओर्जान न्यालान्डको निर्णायक गल्तीको फाइदा उठाउँदै गोन्कालो रामोसले विजयी गोल गरेका थिए।
उल्लेभाल स्टेडियममा भएको खेलमा पोर्चुगलले १७औँ मिनेटमै जोआओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो। पेड्रो नेटोको कटब्याकमा फेलिक्सले पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै बललाई गोलमा परिणत गरे।
पहिलो हाफको अन्त्यतिर नर्वेले बराबरीका लागि दबाब बढाए पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले लगातार दुई उत्कृष्ट बचाउ गर्दै पोर्चुगलको अग्रता जोगाए। दोस्रो हाफ सुरु भएको छैटौँ मिनेटमा एर्लिङ हालान्डले नर्वेलाई खेलमा फर्काए। मार्टिन ओडेगार्डको फ्रिकिकमा कोस्टाबाट आएको रिबाउन्डलाई प्याट्रिक बर्गले गोलक्षेत्रतर्फ पठाएपछि हालान्डले नजिकबाट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
तर बराबरी भएको तीन मिनेटमै नर्वेले फेरि अग्रता गुमायो। न्यालान्डले गरेको पास रामोसले बीचमै खोसेपछि उनले गोलरक्षकलाई अघि बढेको अवस्थामा भेट्टाउँदै बललाई माथिबाट चिप गरेर जाली चुमाए। त्यसपछि नर्वेले बराबरीका लागि लगातार आक्रमण गरे पनि पोर्चुगलको रक्षापंक्ति र कोस्टाले उनीहरूलाई रोकिरहे। कोस्टाले खेलमा पाँच महत्वपूर्ण बचाउ गरे।
रामोसले अर्को गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। राफाएल लियाओको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। यस जितसँगै पोर्चुगलले नेसन्स लिगको उपाधि रक्षा अभियानमा दुई खेलबाट दुई जित निकालेको छ।
क्रिस्टियानो रोनाल्डो भने यो खेलमा पोर्चुगलको टोलीमा थिएनन्। उनको अनुपस्थितिमा जोआओ फेलिक्सले प्रभावशाली प्रदर्शन गर्दै पछिल्ला ११ सुरुआती खेलमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्।
यता हालान्डले नर्वे र म्यानचेस्टर सिटीका लागि पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमध्ये ११ मा गोल गरेका छन्। उनी पछिल्ला ६ खेलमा लगातार गोल गर्न सफल छन्।


