
देशका ४७ भन्दा बढी जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका अधिकांश जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा जलसतह उल्लेख्य बढ्दै आकस्मिक बाढी (Flash Flood) को जोखिम उच्च बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले असोज ११ गतेका लागि विशेष सतर्कता बुलेटिन जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्राधिकरणका अनुसार रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र आसपासका १७ जिल्ला भएर बहने स-साना नदीहरूमा आकस्मिक बाढीको ‘उच्च जोखिम’ रहेको छ।
त्यसैगरी उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरसहित ३० भन्दा बढी जिल्लाका नदीहरूमा जलसतह बढी आकस्मिक बाढीको ‘मध्यम जोखिम’ रहेको जनाइएको छ।
नदी तथा खोला किनारका होचा भूभाग, डुबान सम्भावित क्षेत्र र पहिरोको जोखिम रहेका स्थानमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन एवम् सुरक्षा निकायले जारी गरेका सुरक्षा सम्बन्धी सूचनाहरूको पूर्ण पालना गर्न प्राधिकरणले अपिल गरेको छ।


