
अर्थमा ४ जना सहसचिवको जिम्मेवारी हेरफेर,प्रमुख कर प्रशासक शर्माले दिए राजीनामा
काठमाडौं । अर्थ मन्त्रालयले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले महाशाखा तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयका सहसचिव एवम बजेट महाशाखा प्रमुख रहेका सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सारिएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुखको पद केही समयदेखि रिक्त थियो । बजेट व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी भने भर्खरै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बास्तोलालाई दिइएको छ । यस्तै भर्खरै मात्रै कोशी प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएपछि पद रिक्त भएको थियो । यस्तै, लोकसेवा आयोग कोशीबाट सरूवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

