
डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तभित्र अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै असोज मसान्तभित्र विवरण अद्यावधिक गर्न भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। नयाँ नियमअनुसार अब अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकीन गरेर मात्र वालेट खाता खोल्नुपर्नेछ। कम्पनीहरूले असोज मसान्तभित्र प्रयोगकर्ताहरूबाट राष्ट्रिय परिचयपत्र भए/नभएको स्वःघोषणा लिनुका साथै परिचयपत्र लिइसकेका नेपाली नागरिकको हकमा असोज मसान्तभित्र अनिवार्य रूपमा नम्बर अद्यावधिक गरिसक्नुपर्नेछ।
परिचयपत्र नलिएका नागरिकलाई भने ग्राहक पहिचान (KYC) अद्यावधिक गर्न हरेक महिना एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ। विदेशमा बसोबास गर्ने नेपालीहरूले राष्ट्रिय परिचयपत्रविना नै अन्य आवश्यक कागजातका आधारमा अनलाइन वालेट खोल्न पाउने भए तापनि नेपाल फर्किएको ३५ दिनभित्र विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा परिचयपत्र वा नम्बरबाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर पनि वालेट खोल्न र कारोबार गर्न सकिनेछ। राष्ट्र बैंकले डिजिटल कारोबारलाई थप सुरक्षित र पारदर्शी बनाउन यो कदम चालिएकाले समयमै विवरण अद्यावधिक गर्न सबैमा आग्रह गरेको छ।


