
पुँजीगत लाभकर घटाउने निर्णय राजपत्रमा प्रकाशित, दीर्घकालीन लगानीकर्ताले अब ३.७५ प्रतिशत तिर्नुपर्ने
काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। पुँजीगत लाभकर घटाउने सम्बन्धी सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
भदौ ३१ गतेको मिति राखेर प्रकाशित राजपत्रमा सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने करको दर घटाएको उल्लेख छ। यससँगै दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकर ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत कायम भएको छ।
यसअघि सेयर कारोबारमा दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। सरकारले करको दर घटाउने निर्णय गरेपछि अब नयाँ दर लागू हुने भएको हो।
मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको थियो। निर्णय राजपत्रमा प्रकाशित भएसँगै यसले औपचारिक कानुनी आधार पाएको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ मार्फत पनि सेयर बजारमा लाग्ने पुँजीगत लाभकर घटाउने घोषणा गरिएको थियो। सरकारले करको दर घटाउनुका साथै लगानीकर्ताले सेयर कारोबारमा व्यहोरेको घाटा समायोजन गर्न सक्ने व्यवस्था ल्याउने तयारीसमेत गरेको छ।
प्रस्तावित व्यवस्थाअनुसार वर्षभरि सेयर कारोबार गर्दा भएका नाफा–घाटा समायोजन गरेर वास्तविक रूपमा लाभ भएको अवस्थामा मात्रै पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गर्ने सरकारको तयारी छ। यस्तो व्यवस्था कार्यान्वयनमा आएमा वर्षभरका कारोबारलाई समग्र रूपमा हेरेर कर निर्धारण गर्ने आधार बन्नेछ।

