
सेयर बजार १८ अंकले बढ्यो, कारोबार करिब ४ अर्ब

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । गत साता साढे १४ अंकले घटेको बजार आज भने १८.०७ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५६०.८४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९५ कम्पनीका सेयर मूल्य बढेको छ । त्यस्तै ७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.४६ अंकले बढेर ४५३.९६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ ।
परिसूचक बढेको दिन बजारमा ३ अर्ब ८३ करोड माथिको कारोबार भएको छ । आज ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक खरिद बिक्री हुँदा ३ अब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

