
नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् ।
राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

