
५ हजार अझै बेपत्ता,चार देशका विशेष सुरुङ टोली उद्धारमा खटिएः परराष्ट्र मन्त्रालय

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १२ औँ दिन आइतबार (भदौ २१) पनि प्रभावित क्षेत्रहरूमा तीव्र रूपमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। परराष्ट्र मन्त्रालयले आज अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन स्वदेशी तथा अन्तर्राष्ट्रिय संयन्त्रहरू पूर्ण रूपमा परिचालन गरिएको जनाएको छ।
३०० भन्दा बढी विदेशीसहित १३,१०४ को जीवितै उद्धार, ५ हजार अझै बेपत्ता बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित कुल १३,१०४ जनाको जीवितै उद्धार गरिएको छ। पछिल्लो तीन दिनमा मात्रै अपर त्रिशुली ३ए र अपर त्रिशुली १ को सुरुङ तथा बेत्रावतीबाट ४ जनाको जीवितै उद्धार गरिएको छ। बाढीका कारण हालसम्म १,३४१ जनाको मृत्यु भएको पुष्टि भई शव फेला परेको छ। ३५ देशका करिब ६०० विदेशी नागरिकसहित करिब ५,००० जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
भारत, चीन, कोरिया र मलेसियाका विशेष उद्धार टोली मैदानमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै भारत, चीन र दक्षिण कोरियाका प्राविधिक सुरुङ उद्धार टोलीहरू संयुक्त रूपमा खटिएका छन्। यसैक्रममा मलेसियाबाट ९ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय ‘स्मार्ट’ उद्धार टोली पनि काठमाडौँ आइपुगेर कार्यक्षेत्रमा परिचालन भएको छ।
विद्युत्, सडक र दूरसञ्चार पूर्वाधारमा व्यापक क्षति प्रारम्भिक क्षति मूल्यांकन अनुसार बाढीका कारण ७,५७० वटा घर, ४८ वटा सरकारी कार्यालय, ५५ किमी सडक, ३७ वटा पक्की पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। त्यस्तै अपर त्रिशुली, चिलिमे र रसुवागढी लगायत १३ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा ७८३ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ। मन्त्रालयका अनुसार गल्छी–त्रिशुली सडक सञ्चालन गर्न नेपाली सेनाले तादी नदीमा अस्थायी पुल निर्माण गरिरहेको छ भने त्रिशुली र देवीघाटमा दुई वटा तुइन सञ्चालनमा ल्याइएको छ।
शव पहिचानका लागि अन्तर्राष्ट्रिय फोरेंसिक टोली र डीएनए प्रक्रिया सुरु फेला परेका शवहरूको पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फोरेंसिक टोलीहरू नेपाल प्रहरीसँग जोडिएका छन्। बेपत्ता भएका नागरिकका आफन्तहरूलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा [email protected] मा डीएनए विवरण पठाउन अनुरोध गरिएको छ। तातोपानी नाका हुँदै हालसम्म ४३१ जना नेपाली स्वदेश फर्किसकेका छन्।
अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता र सहयोग प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई विभिन्न देशका प्रमुख तथा समकक्षीहरूले टेलिफोन गरी सहानुभूति एवं सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। भारत, चीन, अमेरिका, जापान, कोरिया, ईयू, विश्व बैंक लगायतका साझेदारहरूबाट राहत सामग्री प्राप्त भइरहेको छ। मन्त्रालयले आपत्कालीन समन्वयका लागि हटलाइन (+९७७-९७४४४४१२२७/२८) र अनलाइन पोर्टल जारी गरेको छ।

