
इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसम्म ८ जना क्यासिनोबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसम्म ८ जना क्यासिनोबाट पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इन्स्पेक्टर पौडेल र गाउँपालिका अध्यक्ष यादवसँगै सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी तथा वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।
प्रहरीका अनुसार उनीहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका अन्य व्यक्तिहरूको विवरण तथा उनीहरूमाथि हुने कानुनी कारबाहीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

