
बाढी प्रभावितको सहयोगार्थ पतञ्जलि नेपालले दियो २ करोड ११ लाख

काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरूको सहयोगार्थ पतञ्जलि नेपालले २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । स्वामी रामदेव र आचार्य बालकृष्णको प्रेरणामा सञ्चालन गरिएको अभियानअन्तर्गत प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा निःशुल्क भोजन वितरणका लागि भण्डारा सञ्चालन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक विपत्तिबाट घरबार, सम्पत्ति र जीविकोपार्जन गुमाएका तथा उद्धारको पर्खाइमा रहेका नागरिकलाई राहत, खाद्यान्न र आवश्यक सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको पतञ्जलि नेपालले जनाएको छ । संस्थाले विपद्को घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व मात्र नभई मानवीय कर्तव्यसमेत भएको उल्लेख गरेको छ ।
पतञ्जलि नेपालले प्रभावित क्षेत्रमा राहत तथा भोजन वितरणको अभियानलाई निरन्तरता दिने जनाएको छ । देश प्राकृतिक विपत्तिको संकटबाट गुज्रिरहेका बेला सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिकबीचको सहकार्यबाट मात्र प्रभावकारी राहत तथा पुनःस्थापनाको काम सम्भव हुने संस्थाको भनाइ छ ।

