
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई ७० लाख सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कुल सहयोगमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ र बैंकका कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको बैंकले जनाएको छ।
सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।
बैंकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ। सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धतासमेत बैंकले जनाएको छ।

