
रसुवा बाढी : इप्पानले व्यक्त गर्यो दु:ख

काठमाडौ । ठूलो संख्यामा जनधन नस्ट भएको बेला इप्पानले दु:ख व्यक्त गरेको हो । उसले रसुवाको बाढी पहिरो केन्द्रिय सूचना जारी गरेको छ ।
यस्तो छ विज्ञप्ति
आज मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) गहिरो दुःख व्यक्त गर्दछ । बाढीले मानव बस्ती, विद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पु¥याउनुका साथै यस क्षेत्रको जनजीवनमा गम्भीर असर पारेको छ ।
बाढीका कारण वेपत्ता तथा प्रभावित सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा विद्युत आयोजनामा कार्यरत कामदारहरूको उद्धार कार्य जारी रहेको अवस्थामा उद्धार तथा राहतमा खटिनुभएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा सबै सरोकारवालाप्रति इप्पान हार्दिक धन्यवाद व्यक्त गर्दछ । यस विपद्को घडीमा ऊर्जा उत्पादकहरूको संस्था इप्पान प्रभावित समुदाय तथा विद्युत क्षेत्रसँगै रहेको र आवश्यक सहयोगका लागि तयार रहेको स्पष्ट गर्दछ ।
प्राप्त प्रारम्भिक विवरण अनुसार, यस प्राकृतिक विपद्बाट त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। विशेषगरी नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
हालसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको अनुमान गरिएको छ । त्यसैगरी नुवाकोट जिल्लामा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजनासमेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन् ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सबै सुरक्षा निकायलाई आग्रह गर्दछ । साथै प्रभावित आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलाई समेत आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन अनुरोध गर्दछ ।
इप्पान सम्पूर्ण निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई विपद्बाट प्रभावित नागरिक तथा विद्युत आयोजनाको उद्धार, राहत र पुनस्र्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न हार्दिक आग्रह गर्दछ ।
त्यसैगरी बाढीबाट क्षतिग्रस्त विद्युत आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण तथा विद्युत प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग तथा सम्बन्धित निकायसँग इप्पान आग्रह गर्दछ । क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पान अनुरोध गर्दछ ।
इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने कार्यसमेत अघि बढाउनेछ । विपद्को तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको धारणा छ ।
यस विपद्बाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै बेपत्ता नागरिक तथा कामदारहरूको शीघ्र सकुशल उद्धारको कामना गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
मोहन कुमार डाँगी
अध्यक्ष

