
जीवन बीमा कम्पनीहरुको नाफा साढे ५ अर्बः अग्रस्थानमा आइएमई वृद्धिदरमा सिटिजन अघि

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/०८३ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा करिब साढे ५ अर्ब रुपैयाँ पुगेको छ । बीमा कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले गत आवमा ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ मुनाफा कमाएका हुन् ।
सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमो कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १०.५३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको नाफा ६ अर्ब ८ करोड ६० लाख ६० हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालनमा रहेका ठूला १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटाको नाफा बढेको छ भने ५ वटाको घटेको छ ।
समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा आइएमई लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१६ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार दोस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफको मुनाफा २.१८ प्रतिशतले बृद्धि भई ५७ करोड १ लाख रुपैयाँबाट ५८ करोड २६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा नेपाल लाइफको मुनाफा भने १५.०२ प्रतिशतले घटेर ४६ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अवधिमा सन नेपाल लाइफले ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा २२.८४ प्रतिशतले कम हो । त्यस्तै एशियन लाइफको मुनाफा १.१९ प्रतिशतले बढेर ४१ करोड ४२ लाख पुगेको छ भने एनआईसी नेपालको २८.४५ प्रतिशतले बढेर ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
वृद्धिदरमा सबैभन्दा अघि रहेको सिटिजन लाइफको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १०६.६३ प्रतिशतले बढेको छ । यो कम्पनीले वर्षदिनमा ३९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा सानिमा रिलायन्सको १.६९ प्रतिशतले बढेर ३८ करोड ३८ लाख, सूर्यज्योति लाइफको ८.५५ प्रतिशतले बढेर ३८ करोड २ लाख, मेट लाइफको ५५.२९ प्रतिशतले घटेर ३७ करोड ९२ लाख, प्रभु महालक्ष्मी लाइफको १.३१ प्रतिशतले बढेर ३७ करोड ५५ लाख, नेशनल लाइफको १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख र हिमालयन लाइफको ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख रुपैयाँ पुगेको हो ।
सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय जीवन बीमाको नाफा भने ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा कम्पनी २ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको छ ।

