
इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् ।
भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।
फ्लोरेस टापुका ६ क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताले खोजी गरिरहेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार सात दशमलव सात म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो । भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो । यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।
विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ । करिब ५ हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।
शक्तिशाली परकम्पको डरले अन्य हजारौँ बासिन्दाले रात खुला आकाशमुनि बिताएका छन् । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको छ ।
राहतकर्मीले चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन् । विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माण भइरहेको छ ।
अधिकारीहरूले विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्नु र पहिरोका कारण सम्पर्क विच्छेद भएका दुर्गम गाउँमा राहत पुर्याउनु मुख्य चुनौती रहेको बताएका छन् ।
भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि प्रभावित भएको छ । पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन् ।
धेरै बासिन्दाले क्षतिग्रस्त घरमा फर्किनुभन्दा बाहिरै रात बिताएका छन् । लाबुआन बाजोकी किसान अनास्तासिया इमादले भूकम्पको कम्पन निकै तीव्र र डरलाग्दो भएको बताए । “हामीलाई परकम्पका कारण घर भत्किएर आफूहरूमाथि खस्ने डर थियो”, उनले क्षतिग्रस्त घरनजिकैको अस्थायी आश्रयबाट बताए ।
पहुँच कठिन भएका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा उद्धार टोलीले आइतबार खोजी कार्य पुनः सुरु गरेका छन् । मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनः स्थापित गरिएको छ । तर सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्य प्रभावित भएको छ ।
उनका अनुसार उद्धारकर्ताले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन् ।
भूकम्पको उच्च जोखिममा इन्डोनेसिया
१७ हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । यस क्षेत्रमा सक्रिय ज्वालामुखी र फल्ट लाइनहरू रहेकाले मुलुक भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको छ ।
सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो । सन् २०१८ मा सात दशमलव पाँच म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र त्यसबाट भएको भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो । उक्त विपद्मा चार हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापु नजिकै गएको ९ दशमलव एक म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार जनाको ज्यान लिएको थियो ।

