
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा झिनो सुधार देखिएको हो ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २.१८ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ रहेको थियो । कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार मानिने खुद बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढीले वृद्धि गर्दै ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट हुने आय ३.१२ प्रतिशतले बढेर १ अर्ब ४७ करोड १७ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ थियो । कुल आम्दानीका हिसाबले हेर्दा कम्पनीले ७ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ जुन अघिल्लो वर्षको ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँको तुलनामा आकर्षक बढोत्तरी हो ।
अघिल्लो वर्ष १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको जीवन बीमा कोष उल्लेख्य मात्रामा बढेर १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । नाफामा देखिएको यो सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि बढोत्तरी भई ११.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी १०.९७ रुपैयाँ मात्र थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६२ पैसा रहेको छ । चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोष २८ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ८१ करोड ३४ लाख रुपैयाँमा झरेको छ ।

