
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प

काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको वैदेशिक व्यापार प्रभावित भएको छ । विभिन्न स्थानमा गएको पहिरोका कारण नाकातर्फको सडक अवरुद्ध भएपछि चीनबाट मालसामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन् ।
नाका अवरुद्ध हुँदा तातोपानी हुँदै हुने नेपाल–चीन व्यापारसमेत ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार सडक अवरुद्ध भएकै कारण चीनतर्फबाट मालवाहक कन्टेनर आउन सकेका छैनन् ।
सडक कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै टुंगो लागेको छैन । तातोपानी नाका लामो समयदेखि बन्द रहँदा चीनबाट आयात हुने वस्तुको आपूर्ति प्रभावित हुनुका साथै व्यापारिक गतिविधिमा समेत असर परेको छ । सडक सञ्चालनमा नआएसम्म नाकाबाट हुने नियमित आयात–निर्यात सुचारु हुन नसक्ने अवस्था रहेको छ ।

