
वर्ष दिनमा १३ अर्ब ७७ करोडको बीमा पोलिसी त्याग, १० लाख बढी पोलिसी भएनन् नवीकरण

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अवधिमा पोलिसी सरेण्डर रकम झण्डै १४ अर्ब नजिक पुगेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बाहिरिएको हो ।
उक्त सरेण्डर रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा भने ९.११ प्रतिशत कम हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो । सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १६.४९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षकोे असार मसान्तसम्ममा १ लाख ८ हजार २३८ जनाले बीमालेख सपर्मण गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा भने ९० हजार ३८७ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने १२.०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बीमालेख नविकरण नगरिएको रकम ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा व्यतित बीमालेख रकम ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ रहेको थियो । यता व्यतित बीमालेखको संख्या भने १७.१६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १० लाख ३० हजार ४० वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । अघिल्लो आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ४३ हजार ३६५ रहेको थियो ।


