
बुद्धभूमि नेपाल हाइड्रोपावरको नाफा १ कराड बढी धनात्मक

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा धनात्मक बनेको हो ।
अघिल्लो वर्ष कम्पनीको नाफा ऋणात्मक रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको घाटालाई पूर्ति गर्दै नाफामा फर्किन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा १४ करोड ३७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष २८.६८ प्रतिशतले वृद्धि गरी १८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । यससँगै अघिल्लो आर्थिक वर्षमा २ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको खुदा नाफा गत आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँले धनात्मक बनेको हो ।
विद्युत बिक्री बढेसँगै कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको ६ करोड ३५ लाख रुपैयाँबाट ४२.४५ प्रतिशतले बढेर ९ करोड ५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बैंक ऋणको ब्याज भुक्तानी तथा वित्तीय खर्च अघिल्लो वर्षको ८ करोड ७५ लाख रुपैयाँबाट घटेर ७ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।
अघिल्लो आर्थिक वर्ष ४० करोड रहेको कम्पनीको चुक्ता पूँजी गत आर्थिक वर्ष १०० प्रतिशत बढेर ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको विगतको सञ्चित घाटा घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष १० करोड ४७ लाख सञ्चित घाटा रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा घाटा घटेर ३० लाख ५९ हजार धनात्मक जगेडा कोषमा परिणत भएको छ ।
हकप्रद पूँजीबाट ऋण भुक्तानी गरिएकाले कम्पनीको दीर्घकालीन ऋण अघिल्लो वर्षको ९१ करोड ५६ लाख रुपैयाँबाट घटेर ७३ करोड ८९ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कुल सम्पत्ति १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को चैत्र १० गतेदेखि व्यावसायिक उत्पादन शुरू गरी ४.९९ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजनाबाट निरन्तर विद्युत बिक्री गर्दै आइरहेको छ । कम्पनीले हकप्रद सेयरमार्फत पूँजी वृद्धि गरी बैंक ऋण घटाउन सफल भएको छ । सञ्चित घाटा पूर्ति भई जगेडा कोष धनात्मक हुनु र कम्पनी खुद नाफामा फर्किनुले आगामी दिनमा शेयरधनीहरूका लागि लाभांशको ढोका खुल्ने सकारात्मक संकेत गरेको छ । कम्पनीको प्रतिव्यक्ति आय १ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा रहेको छ ।

