
५१ प्रतिशतले बढ्यो साहस ऊर्जाको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

काठमाडौं । साहस ऊर्जा लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढेको हो ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८९ करोड ५१ लाख रुपैयाँ रहेको थियो । कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी आम्दानी गरिरहेको छ । कम्पनीले गत आर्थिक वर्ष विद्युत बिक्री गरी २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ६४ करोड रुपैयाँ थियो । प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च घटाई सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय खर्च (ब्याज दायित्व) अघिल्लो वर्षको ८० करोड २१ लाख रुपैयाँबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको छ । कम्पनीले आफ्नो वित्तीय आधार र सञ्चित कोषलाई थप मजबुत बनाएको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष गत आर्थिक वर्ष बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोषको आधार ३ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५८ पैसा रहेको छ ।

