
फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी ‘हायर स्मार्ट होम’ ‘फर्चुन ग्लोबल ५००’ सूचीमा १२ स्थान माथि उक्लँदै ३७८ औँ स्थानमा पुग्न सफल भएको छ । २८ जुलाईमा सार्वजनिक भएको नयाँ सूचीमा कम्पनीले उक्त स्थानमा पुगेको हो ।
विश्वव्यापी ब्रान्डको सुदृढ उपस्थिति र आन्तरिक रूपमा गरिएको एआईको प्रयोगका कारण कम्पनीले यो सफलता हासिल गरेको बताइएको छ । हायर स्मार्ट होमले आफ्नो ब्रान्ड पोर्टफोलियो अन्तर्गत हायर, कसार्टे, लिडर, जीई एप्लायन्सेज, फिसर एन्ड पेकेल, अक्वा र क्यान्डी जस्ता ब्रान्ड सञ्चालन गर्दै आएको छ ।
यी ब्रान्डले आ-आफ्नो स्थानीय बजारको माग अनुरूप स्वतन्त्र रूपमा उत्पादन र अनुसन्धान गर्दै अग्रणी भूमिका खेलिरहेका छन् । उत्तर अमेरिकामा जीई एप्लायन्सेज लगातार चार वर्षदेखि अग्रणी स्थानमा रहँदै बजार हिस्सा विस्तार गर्न सफल भएको छ भने युरोपेली बजारलाई मध्यनजर गर्दै आफ्नो सेवालाई प्राथमिकता दिँदै युरोपेली मापदण्डभन्दा ७० प्रतिशत कम ऊर्जा खपत गर्ने ‘X11’ वासिङ मसिन बनाएर २० भन्दा बढी मुलुकमा १० लाखभन्दा बढी बिक्री भएको छ ।
यसै गरी, दक्षिण-पूर्वी एसियामा पनि शीर्ष स्थान हासिल गर्दै कम्पनीले नयाँ एयर कन्डिसनर उत्पादन केन्द्र स्थापना गरेर स्थानीय बजारमा आफ्नो उत्पादन क्षमता बलियो बनाएको छ । कम्पनीको आन्तरिक कार्य प्रणालीलाई चुस्त बनाउन आफ्नै एआई Model र एकीकृत प्रविधि प्लेटफर्म विकास गरेको छ ।
यस अन्तर्गत ‘झि-शाओनेङ’ नामक एआई डिजिटल एसिस्टेन्टले ६० हजारभन्दा बढी प्रयोगकर्तालाई स्वतन्त्र रूपमा फलोअप गर्न मद्दत गरिरहेको छ । उत्पादन इन्जिनियरिङमा पुराना तथ्याङ्कका आधारमा कार्य योजना बनाउँदा घण्टौँ लाग्ने काम केही मिनेटमै सकिनुका साथै शुद्धतामा २० प्रतिशतले सुधार आएको कम्पनो दाबी छ ।
यस प्रविधिको प्रयोगले नयाँ उत्पादन विकासको चक्र ३० प्रतिशतले छोटिएको छ, उत्पादन क्षमता २० प्रतिशतले बढेको छ भने प्रशासनिक तथा बिक्री खर्चको अनुपात लगातार पाँच वर्षदेखि घट्दै गइरहेको छ ।
यी दुई बलिया पक्ष अर्थात् विश्वव्यापी बजार र एआई प्रविधिको फ्युजनबाट हायरले आफ्नो स्मार्ट होम व्यवसायलाई नयाँ उचाइमा पुर्याएको कम्पनीले जनाएको छ । एआई एजेन्टमा आधारित यस स्मार्ट होम प्रणालीमा हाल विश्वभर १३ करोड दर्ता भएका प्रयोगकर्ता छन्, जहाँ प्रयोगकर्ता र एआई बिच वार्षिक ८६.१ अर्ब पटक अन्तर्क्रिया हुने गर्छ । युरोमोनिटर इन्टरनेसनलले समेत यसलाई बिक्रीका आधारमा विश्वकै पहिलो स्थानमा रहेको स्मार्ट होम कम्पनीका रूपमा प्रमाणित गरेको छ ।
यसरी ठुला घरायसी उपकरणबाट स्मार्ट होम प्रविधिको नेतृत्वदायी भूमिकामा रूपान्तरण हुनु र फर्चुन सूचीमा निरन्तर माथि उक्लनुले कम्पनीको दीर्घकालीन रणनीतिक सबलतालाई थप स्पष्ट पारेको छ ।

