
अदालतको आदेशपछि व्यवसायी शेखर गोल्छा धरौटीमा मुक्त

काठमाडौं । व्यवसायी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेका गोल्छालाई काठमाडौं जिल्ला अदालतले मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले थुनछेक बहसपछि गोल्छाविरुद्ध लगाइएका दुईवटा कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरेको छ।
अदालतले बिमा सम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ तथा धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी तोक्दै कुल १ करोड रुपैयाँ धरौटी बुझाएपछि रिहा गर्न आदेश दिएको हो।
गोल्छालाई बिमा र धितोपत्र सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार नियन्त्रणमा लिएको थियो। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी रिहा भएका छन्।

