
त्रिभूवन विमानस्थलमा कडाई, बिना अनुमति भिडियो खिंच्न र सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत सञ्चालन लाई थप सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय ले नयाँ ‘एअरसाइड सेफ्टी अपरेसन प्रोसिजर’ जारी गरेको छ। विमानस्थलका महाप्रबन्धकद्वारा स्वीकृत यस नयाँ सुरक्षा निर्देशिकाले यात्रुको सुरक्षा, धावन मार्गको निगरानी, फोहर व्यवस्थापन तथा र्याम्पमा काम गर्ने कर्मचारीहरूको अनुशासनमा कडाइ गरेको छ।
नयाँ नियम अनुसार विमानस्थलको सुरक्षित वा प्रतिबन्धित क्षेत्रभित्र छिरेर बिना अनुमति फोटो खिच्न, भिडियो बनाउन, रेकर्डिङ गर्न वा सामाजिक सञ्जालमा सेयर गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यस्तै नियम उल्लङ्घन गर्नेमाथि सुरक्षा ऐन अनुसार कारसबाही हुने बताइएको छ।
एयरसाइडमा गाडी चलाउने चालक, ग्राउन्ड ह्यान्डलिङका कर्मचारी र प्राविधिकहरूको ड्युटी अघि वा ड्युटीकै क्रममा ‘सरप्राइज’ ब्रीथ अल्कोहल टेस्ट गरिनेछ। मादक पदार्थ वा लागू औषध सेवन गरेको पाइएमा तत्कालै विमानस्थल प्रवेश पास रद्द गरी कडा कारबाही गरिने निर्देशिकामा उल्लेख छ।
हाजसम्म यात्रु ओसारपसार गर्दा विशेष ध्यान दिन, ह्विलचेयर तथा अपाङ्गता भएका यात्रुहरूका लागि एम्बुलिफ्टको अनिवार्य प्रयोग गर्न र जहाजको इन्जिन पूर्ण बन्द भएपछि मात्र बस नजिक लैजान भनिएको छ। साथै, बागमती र मनोहरा नदी नजिक भएकाले चराचुरुङ्गीको जोखिम न्यूनीकरण गर्न र्याम्प क्षेत्रमा खानेकुरा र फोहर फाल्न प्रतिबन्ध लगाइएको छ।
खुला खानेकुराले चरा र छाडा जनावर आकर्षित भई उडान सुरक्षामा जोखिम पुग्ने भएकाले फोहरलाई बिर्क बन्द गरिएका भाँडोमा राखी सोही दिन बाहिर निकाल्नुपर्ने व्यवस्था गरिएको छ।
एउटै मात्र धावनमार्ग भएकाले विमानस्थलको धावन मार्ग निरन्तर सफा र सुरक्षित राख्न दैनिक दुई पटक अनिवार्य र मौसम खराब हुँदा आकस्मिक निरीक्षण गरिने विमानस्थल कार्यालयले जनाएको छ।

