
करिब ९ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य सुधार देखिएको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले बढी हो । यो बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा १२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा ब्याज खर्च घटेका कारण बैंकको खुद ब्याज आम्दानीमा ठूलो सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी, गत आर्थिक वर्ष ५०.३० प्रतिशत बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा पनि १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको सेयरधनीहरूलाई वितरण गर्न मिल्ने वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी अनुसार सेयरधनीहरूलाई १२.७३ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता दखिन्छ ।
वित्तीय संस्थाको महत्त्वपूर्ण सूचक मानिने निष्क्रिय कर्जा नियन्त्रणमा मितेरी बैंकले उत्कृष्ट प्रदर्शन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा झनै घटेर ०.२६ प्रतिशतमा सीमित भएको छ । जुन वित्तीय क्षेत्रमै अत्यन्तै न्यून र सुरक्षित हो । नाफामा वृद्धि भएसँगै बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ । गत असार मसान्तसम्म बैंकको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा र पूँजी कोष अनुपात २५.७५ प्रतिशत रहेको छ ।

