
नेपाल रिको गत आवको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, कम्पनी करिब ६ अर्बको घाटामा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष चैतम्मको अवधिमा ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड २३ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ८३ करोड ५३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.२३ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष ईपीएस ५.४५ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.२० रुपैयाँमा झरेको छ ।

