
रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपालको रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याइने बताएकी छन् । उद्योगमन्त्री यादव र खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुबीच भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने रैथाने वस्तुको ब्रान्डिङ, संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानका विषयमा छलफल भएको हो।
भेटका क्रममा एफएओका प्रतिनिधि सिमिजुले विश्वका अधिकांश देश तथा एसियाका झण्डै सबै राष्ट्रमा जीआई प्रणाली कार्यान्वयनमा आइसके पनि नेपालमा अझै प्रभावकारी रूपमा लागू हुन नसकेको विषय उठाएका थिए। उनले नेपाली रैथाने उत्पादनको जीआई दर्ता नहुँदा बहुमूल्य स्थानीय ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष असर नेपालले भोग्नुपरेको बताए ।
उनले नेपाली मौलिक उत्पादनको पहिचान र अधिकार सुरक्षित गर्न तत्काल स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै जीआई कानुन शीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए।
जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको संरक्षण, ब्रान्ड प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानका लागि आवश्यक कानुन निर्माणमा सरकार प्रतिबद्ध रहेको बताइन्। उनले यस विषयमा आवश्यक पहल सुरु भइसकेको जानकारी दिँदै कानुन मन्त्रालयसँग समन्वय गरी छिट्टै विधेयक तयार पारेर अघि बढाइने स्पष्ट पारिन्।

