
गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं । सरकारले मुगुका युवा गणेश नेपालीको आत्महत्या प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठनको निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
समितिमा पूर्व-सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व-सहसचिव रामुराज कडरिया सदस्य छन् । समितिलाई अबको ७ दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ ।
नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’ मा उपचारको क्रममा निधन भएको थियो । उनको मृत्युपछि नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामा उल्लेख भएअनुसार समिति बनाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

