
मेट लाइफ फाउन्डेसनद्वारा डब्लूडब्लूएफ नेपाललाई सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा “प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास“ जीवन नामक परियोजना कार्यान्वयन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ ।
यस पहलले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई सहयोग गर्नेछ । यस क्षेत्रमा बारम्बार आउने बाढी, नदी कटान तथा माछाको घट्दो संख्याका कारण स्थानीय समुदायको जीविकोपार्जन र खाद्य सुरक्षामा निरन्तर जोखिम उत्पन्न भइरहेको छ ।
एक वर्षे यस परियोजनाले करिब १४० न्यून आय भएका घरपरिवारको जलवायु उत्थानशीलता सुदृढ गर्दै आर्थिक अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । डब्लूडब्लूएफ नेपालले बाढीको जोखिम घटाउन तथा कृषि भूमि र बस्तीलाई डुबानबाट जोगाउन जैविक तटबन्ध (बायो–डाइक), हरित पट्टी तथा खोल्सा पुनर्स्थापनालगायत प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्नेछ ।
पारिस्थितिक प्रणालीको पुनस्र्थापनासँगै परियोजनाले दिगो र विविधीकृत जीविकोपार्जनका अवसरहरू प्रवद्र्धन गर्नेछ । यसअन्तर्गत होमस्टेमा आधारित पर्यापर्यटनलाई सुदृढ गर्ने, पशुपालन तथा कुखुरापालनजस्ता गतिविधिलाई सहयोग गर्ने र बजारसम्मको पहुँच सुधार गर्ने कार्यहरू समावेश छन्। साथै, मेटलाइफका कर्मचारीहरूले स्वयंसेवी सहभागितामार्फत विशेषगरी वित्तीय साक्षरता, बजेट व्यवस्थापन तथा साना व्यवसाय सञ्चालनसम्बन्धी तालिममा योगदान गर्ने अपेक्षा गरिएको छ। यसले समुदायको क्षमता र दीर्घकालीन उत्थानशीलता अझ सुदृढ गर्न सहयोग पुर्याउनेछ ।
घट्दो माछा स्रोतमा समुदायको निर्भरता कम गर्दै यस पहलले कर्णाली नदीको समृद्ध जैविक विविधता संरक्षणमा समेत योगदान पुर्याउनेछ । यसमा नदी डल्फिन र घडियालजस्ता संकटापन्न प्रजातिको संरक्षण पनि समावेश छ । यो साझेदारीले उत्थानशील समुदाय निर्माण तथा न्यून आय भएका जनसंख्यालाई थप वित्तीय सुरक्षा र समग्र कल्याण हासिल गर्न सक्षम बनाउने मेटलाइफ फाउन्डेसनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
“जोखिम संरक्षणमा आधारित कम्पनीका रूपमा हामी वास्तविक प्रभाव रोकथाम र पूर्वतयारीबाट सिर्जना हुन्छ भन्ने बुझ्छौं । डब्लूडब्लूएफ नेपालसँगको मेटलाइफ फाउन्डेसनको साझेदारीले हामीलाई हाम्रो परम्परागत भूमिकाभन्दा अघि बढ्दै कर्णालीका बाढी प्रभावित समुदायलाई सहयोग गर्ने अवसर प्रदान गरेको छ । जीवनको सुरक्षा, पारिस्थितिक प्रणालीको पुनस्र्थापना र दिगो जीविकोपार्जन सिर्जना गर्ने समाधानमार्फत हामी यी समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउन सहयोग गर्न चाहन्छौं,” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।
“जीवन परियोजनाका लागि मेटलाइफ फाउन्डेसनसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। कर्णाली नदीको यही क्षेत्रमा, जहाँ नेपालको पहिलो माछा संरक्षण क्षेत्र पनि स्थापना गरिएको छ, हामीले भर्खरै ऊद र तिनको नदीजन्य बासस्थान संरक्षणका लागि समुदायको संरक्षणसम्बन्धी भूमिका सुदृढ गर्ने परियोजना सम्पन्न गरेका छौं । जीवन परियोजनामार्फत राजापुरका सोनाहा र थारू समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै जैविक तटबन्ध र हरित पट्टीमार्फत बाढीको जोखिम घटाउनुका साथै पर्यापर्यटन, पशुपालन सहयोग र बजार पहुँचमार्फत नयाँ जीविकोपार्जनका अवसर सिर्जना गर्न पाउँदा हामी उत्साहित छौं । मानिस र कर्णाली नदीको समृद्ध जैविक विविधता दुवैको संरक्षण गर्ने समाधानमा लगानी गर्नुभएकोमा हामी मेटलाइफ फाउन्डेसनप्रति आभारी छौं,” डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले भने ।

