
सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार भने घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारको गुरुयोजना सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो ।
धितोपत्र बोर्डले मंगलबार मात्रै पुँजी बजारका लागि सुधारका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । मंगलबार मात्रै लगानीकर्ताहरु सेबोनमा ताला लगाउन समेत पुगेका थिए । सेबोनको आश्वासन पछि भने लगानीकर्ताहरु फर्किएका थिए । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले बढेर ४५३.९४ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने एक वटाको घटेको छ । एउटाको भने स्थिर रहेको छ ।
नेप्से परिसूचक बढेको दिन कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा ४ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३६२ कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर ३८ हजार ८३६ पटक खरिद बिक्री हुँदा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।

