
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

काठमाडौं । जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको जापानी समाचार संस्था ‘क्योदो न्युज’ले आइतबार जनाएको छ ।
समाचारअनुसार, यस्तो गिरावट भएका नगरपालिकाको सङ्ख्या अघिल्लो पाँच वर्षको तुलनामा झण्डै दोब्बर भएको छ । सन् २०१५–२०२० मा २४७ नगरपालिका यस श्रेणीमा रहेकामा सन् २०२०–२०२५ मा यो सङ्ख्या बढेर ४७७ पुगेको छ ।
विशेषज्ञहरूले तीव्र जनसङ्ख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन् । उनीहरूले जापानको तीव्र जनसाङ्ख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन् ।
यद्यपि २४३ नगरपालिकामा जनसङ्ख्या वृद्धि भएको देखिए पनि अधिकांश क्षेत्रमा जनसङ्ख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख गरिएको छ ।

