
बीमा दाबी भुक्तानीमा अनियमितता भए उजुरी दिन प्राधिकरणको आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी निर्धारण तथा भुक्तानी प्रक्रियामा अनियमितता, पक्षपात वा कानुनविपरीत गतिविधि भएको भए प्रमाणसहित उजुरी दिन सबै सरोकारवालासँग आह्वान गरेको छ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै केही बीमा कम्पनी, तिनका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिता विपरीत काम गरेको भन्ने गुनासाहरू प्राप्त भइरहेकाले त्यस्ता घटनामा संलग्न व्यक्तिविरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको हो।
प्राधिकरणका अनुसार कुनै बीमा कम्पनी, कर्मचारी, बीमा सर्भेयर वा अन्य सम्बन्धित पक्षले सेवाग्राहीलाई दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै गैरकानुनी कार्य गरेको भए त्यससम्बन्धी प्रमाणसहित उजुरी पेश गर्न सकिनेछ।
उजुरीसँग उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा दाबी पुष्टि हुने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उजुरी नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरस्थित दर्ता शाखामा प्रत्यक्ष उपस्थित भई, इमेलमार्फत वा हुलाकमार्फत पनि पेश गर्न सकिनेछ।
प्राधिकरणले प्राप्त हुने सबै उजुरी र प्रमाणको गोपनीयता कायम राखिने तथा बीमा ऐन, २०७९ र अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

