
दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना लाभान्वित

भक्तपुर, असार २७, २०८३। दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालको आयोजनामा शनिबार बिहान ८:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन्।
फाउन्डेसनका अध्यक्ष राजेश हाडाले शिविरमा दन्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर) परीक्षण, डायबिटिज (सुगर) परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार समुदायलाई सहज, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो।
शिविरमा स्थानीय दाजुभाइ, दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराई सेवा प्राप्त गरेका थिए। सहभागीहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्राप्त गर्नुका साथै आवश्यकताअनुसार औषधि समेत प्राप्त गरेका थिए।
शिविरमा समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो। साथै Magnus Pharma, Quest Pharmaceuticals तथा Nation Health Care Pvt. Ltd. ले निःशुल्क औषधि उपलब्ध गराई कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग गरेका थिए।
फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो। उहाँको सक्रिय सहभागिता, व्यावसायिक दक्षता तथा समर्पित सेवाले शिविरलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको फाउन्डेसनले जनाएको छ।
त्यसैगरी फाउन्डेसनका सदस्य अवध राज ज्ञवालीले औषधिको व्यवस्थापन तथा वितरणमा विशेष योगदान पुर्याउनुभएको थियो। नर्सिङ सेवातर्फ वरिष्ठ नर्स निभा पालिखेल र शुभद्रा प्रधानले निरन्तर स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो।


शिविर सफल बनाउन समाज डेन्टल हस्पिटल, सहभागी चिकित्सकहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक, दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनका आजीवन सदस्यहरू, सहयोगी संस्थाहरू तथा स्थानीय समुदायको उल्लेखनीय सहयोग रहेको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, प्रायोजक, सहयोगी तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने यस्ता जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



