यातायात व्यवस्था विभागले अघि बढायो लाइसेन्स प्रिन्टिङ,पहिलो चरणमै ९ लाखले पाउँने
काठमाडौं । खल्तीमा कागजको चिर्कटो बोकेर हिड्नु पर्ने अवस्था एकतिर रहेको बेलामा अर्कोतिर कार्याव्यस्थताको समयमा समेत ट्राफ्रिक प्रहरीहरुलाई पटक–पटक सवारी चालक अनुमती पत्र (लाइसेन्स) देखाउँनु पर्ने समस्या यो आम नेपाली नागरिकहरुको हकमा सामान्य जस्तै हुने गरेको छ । ठीक यही बेलामा आफूले लाइसेन्स प्राप्त गरिसक्दा पनि लाइसेन्सको सक्कली स्वरुप (अनुहार) हेर्न लामै समय कुर्नु पर्ने पुरानै बाध्यता हो । यस्तो अवस्था विगतदेखि कायम रहदै आए पनि कोरोना महामारीको कहरपछि सो समस्या एकाएक ह्वात्तै बढ्न पुग्यो । कारण, कहिले समयमा यातायातका कार्यालयमा सर्भर संचालन नहुनु, नागरिकले आफ्नो लाइसेन्स पाउँन लामो अवधि प्रतिक्षा गर्नु, यो नेपालको हकमा सामान्य दैनिकी जस्तै बन्न पुग्यो ।
ठीक यही बेलामा यातायात व्यवस्था विभागले थोरै भए पनि आशा जगाएको छ । आगामी दिनमा नयाँ रणनीतिका साथ अघि बढेकाले पनि समस्या देखाएर भन्दा पनि त्यसको समाधानको पाटो हेर्दै नागरिकको सेवामा आफूहरु लाग्ने यातायात व्यवस्था विभागले दाबी गरेको हो ।
विगत (सन् २०२१) देखि विद्यमान रहदै आएको लाइसेन्स प्रिन्टीङको प्रक्रिया हाल तीव्र गतिमा अघि बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक, डाइरेक्टर जेनेरल (डीजी) राजीव पोखरेलले बीमा दर्पण डटकमलाई सो लाइसेन्सको पछिल्लो अपडेट बारे जानकारी दिएका हुन् ।
मन्त्रालयका सह–सचिव समेत रहेका पोखरेलले विगतबाट अड्किएका विभिन्न कामहरुलाई आफ्नै पालामा चुस्त–दूरुस्त ढंगले सम्पन्न गर्न लागि परेको बताएका हुन् । उनले सबै क्षेत्रका सरोकारवालाहरु मिलेर जति सक्दो काम काम फुकुवा गर्न सक्यो त्यति नै आम नागरिकहरुले पाउँने सेवा सुविधामा सहजता आउँने भन्दै सो कुरालाई सबैले आत्मसाथ गर्नु पर्ने बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलले बीमा दर्पण डटकमसँग भने,‘तपाईहरुलाई थाहै छ लामो समयदेखि लाइसेन्स प्रिन्ट नभएर, तपाईहरुले विभिन्न समस्या भोग्दै आउँनु भएको छ । अहिले म यहाँ महानिर्देशक भएर आएपछि मद्रास सेक्यूरीटी प्रेस भन्ने छ (एमएसपी) उहाँहरुसँग सहकार्य अघि बढेको छ । हामीले उहाँहरुसँग चरण–चरणमा वार्ता गर्यौ । उहाँहरुको (डिस्पीयूट) विवाद भनेकै पुराना भुक्तानी पाउँन बाँकी भएकाले रहेछ । हाल हामीले ती भुक्तानीको पाटोलाई समाधान गरेर लाइसेन्स प्रिन्टको कामलाई अघि बढाएको अवस्था छ ।’
कागजको चिर्कटो बोकेका ९ लाखले लाइसेन्स पाउँने
उनले हाल ९ लाख भन्दा बढी कार्ड प्रिन्टिङमा रहेको बताए । यसो गर्दा सन् २०२३ सम्मको लाइसेन्स पिन्ट गरेर तथा सन् २०२४ का पनि कतिपय कार्ड सहजै प्रिन्ट हुने अवस्थामा आफूहरु पुगेको पोखरेलले बताएका हुन् ।
विगतमा संघिय सरकार अन्तर्गत रहेको यातायात क्षेत्रले हाल संघियताको स्थापनासँगै एकल अधिकार भन्दै, प्रदेशको अधिकार स्वरुप सम्पूर्ण यातायात कार्यालयहरुले आ-आफ्नो प्रदेश अन्तर्गत नै काम गरिरहेको उनले बताए । यता, यातायात व्यवस्था विभागले नीतिगत तथा कार्यालयबाट दिइने सेवामा एकरुपता कायम गर्न काम गरिरहेको बताइएको छ ।
साथै, हाल नीतिगत कामहरुलाई नै आफुहरुले प्राथमिकतामा राखेर अघि बढिरहेको डीजी पोखरेलले बताएका हुन् ।