

नेप्सेमा ६ अर्ब रुपैयाँ माथिको कारोबार




काठमाडौं । सातामा सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४९ अंकभन्दा बढीले माथि उक्लिएको छ । सोमबार कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४९ दशमलव १२ अंकले बढेको हो भने सोही दिन सेयर बजार कारोबार बन्द हुँदा अघिल्लो दिनको भन्दा १.८९ प्रतिशतले वृद्धि भएको तथ्यांकमा देखिन्छ।
यता कारोबार बन्द हुँदा परिसूचक २६४० दशमलव ६८ विन्दुमा पुगेको छ भने सेयर बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यसरी नै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६९ अंकले बढेर ४४९ दशमलव ५९ विन्दुमा पुग्दा, १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको देखिन्छ ।
साथै, परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोड माथिको कारोबार भएको बजारमा आज ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजमारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ७५ हजार ५४० पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।
सोमबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेको परिसूचकमा देखिन्छ ।