
माछा उत्पादनमा मधेश प्रदेश अग्रस्थानमा, कर्णालीको हिस्सा न्यून



काठमाडौं । देशको कुल माछा उत्पादनमा मधेश प्रदेशले सबैभन्दा ठूलो योगदान दिएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०८२/८३) अनुरुप आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल माछा उत्पादनमध्ये मधेश प्रदेशको हिस्सा ५१.३८ प्रतिशत रहेको छ, जुन सबै प्रदेशमध्ये सर्वाधिक हो।
मधेश प्रदेशमा प्रशस्त जलस्रोत, व्यावसायिक मत्स्यपालनको विस्तार तथा पोखरीमा आधारित माछा उत्पादनको उच्च स्तरका कारण उत्पादनमा उल्लेखनीय योगदान रहेको देखिएको छ।
यता, कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ०.३३ प्रतिशत मात्र रहेको छ। भौगोलिक विकटता, सीमित मत्स्यपालन पूर्वाधार तथा व्यावसायिक माछापालनको न्यून विस्तारका कारण कर्णालीको योगदान अन्य प्रदेशको तुलनामा निकै कम रहेको देखिएको छ।
समीक्षा अवधिमा माछा उत्पादन ६.६४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा माछा उत्पादन ४.६२ प्रतिशतले घटेको थियो।
कृषि तथा पशुपन्छी क्षेत्रका विज्ञहरूका अनुसार मत्स्य उत्पादनमा प्रदेशगत असन्तुलन घटाउन सम्भावना भएका क्षेत्रमा पूर्वाधार विकास, प्रविधि विस्तार र लगानी वृद्धि आवश्यक छ। विशेषगरी कर्णालीसहित उत्पादन न्यून रहेका प्रदेशमा व्यावसायिक मत्स्यपालनलाई प्रोत्साहन गर्न सके राष्ट्रिय उत्पादनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।
तथ्यांकले देशको माछा उत्पादन मुख्य रूपमा मधेश प्रदेशमा केन्द्रित रहेको देखाएको छ भने अन्य प्रदेशमा उत्पादन क्षमता विस्तारका लागि थप नीति तथा कार्यक्रम आवश्यक रहेको संकेत गरेको छ।
पशुजन्य उत्पादन : आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा दूध उत्पादन २५.९७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा दूध उत्पादन ०.३५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मासु उत्पादन ७.३७ प्रतिशतले बढेको छ भने गत वर्षको सोही अवधिमा मासु उत्पादन ०.४२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा अन्डा उत्पादन ६.७३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा अन्डा उत्पादन ५.६५ प्रतिशतले बढेको थियो। यसैगरी, समीक्षा अवधिमा ऊन तथा छाला उत्पादन क्रमशः २.७९ प्रतिशत र २५.८८ प्रतिशतले बढेको छ
दूध उत्पादनको हिस्सा मधेश प्रदेशमा सबैभन्दा धेरै(२४.७७ प्रतिशत) रहेको छ भने सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशमा (२.७४ प्रतिशत) रहेको छ (तालिका ३.४) । मासु उत्पादनमा मधेश प्रदेशको हिस्सासबैभन्दा धेरै (३५.९७ प्रतिशत) र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (५.२४ प्रतिशत) रहेको छ । अण्डा उत्पादनमा गण्डकी प्रदेशको हिस्सा सबैभन्दा धेरै(२३.७९ प्रतिशत) र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (३.१४ प्रतिशत) रहेको छ ।
वनजन्य उत्पादन :समीक्षा अवधिमा वनजन्य उत्पादनतर्प काठ उत्पादन क्रमश २.९० प्रतिशत र दाउरा उत्पादन १९.८० प्रतिशतले घटेकोछ । गत वर्षको सोही अवधिमा काठ उत्पादन क्रमश ४.०३ प्रतिशत र दाउरा उत्पादन ४१.०८ प्रतिशतले बढेको थियो। त्यसैगरी, समीक्षा अवधिमा सम्रग वनजन्य उत्पादन ०.६५ प्रतिशतले बढेको छ भने गत वर्षको सोही अवधिमा त्यस्तो उत्पादन २.९२ प्रतिशतले बढेको थियो ।



