
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
दुई सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै रुद्राक्ष रोपण गर्न लागिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । ‘ठूलो परिमाणमा तनहुँमा पहिलो पटक रुद्राक्ष रोपण गर्न लागिएको हो’, उनले भने, ‘यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको छ ।’
ती दुई सामुदायिक वनमा तीन हजार रुद्राक्षका बिरुवा रोपण गर्ने तयारी भइरहेको प्रमुख डिभिजन वन अधिकृत रानाभाटले बताए । उनले भने, ‘रुद्राक्षको पकेट क्षेत्रको रूपमा विकास गर्दै उक्त सामुदायिक वनलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो । हिन्दु धार्मालम्वीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ ।’
जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्षयता परीक्षणका रूपमा रोपण गरिएको रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तारित गर्न लागिएको वन अधिकृत अरुण पराजुलीले बताए । ‘प्रारम्भिक चरणमा दुवै वनमा रुद्राक्ष खेती विस्तार गर्ने लक्ष्य लिइएको छ भने क्रमशः अन्य वन उपयोगकर्ता समूहमासमेत कार्यक्रम लैजान तयारी भइरहेको छ’, उनले भने ।
पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोपण गरिने उनले जानकारी दिए । सामुदायिक वन उपभोक्ताका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षण र स्थानीय रूपमा आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । परम्परागत रूपमा दाउरा र घाँसमा निर्भर रहँदै आएको सामुदायिक वन व्यवस्थापनलाई अब आयमूलक वन उपज उत्पादनतर्फ मोड्न रुद्राक्ष सहायक बन्ने उपभोक्ताको अपेक्षा छ । रुद्राक्षको वृक्षले घना छाया र माटोको क्षय नियन्त्रणमा सहयोग गर्ने भएकाले सामुदायिक वन क्षेत्रको वातावरणीय सुधारमा समेत सकारात्मक प्रभाव पर्ने प्राविधिकले बताएका छन् ।
वन क्षेत्रभित्र नै रुद्राक्ष खेती विकास गर्न सकिने भएकाले जग्गा व्यवस्थापनमा चुनौती नरहने पराजुलीले बताए । प्रारम्भिक वर्षमा सिँचाइ, मल तथा संरक्षणमा ध्यान दिनुपर्ने वन डिभिजन कार्यालयले जनाएको छ ।
स्थानीय तहले धार्मिक क्षेत्रमा रुद्राक्ष रोपण गर्दै आए पनि डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो परिमाणमा रुद्राक्ष रोपणलाई प्राथमिकता दिएको छ । केही पालिकाले सामुदायिक वनमा नयाँ बिरुवा रोपिरहेका उपभोक्ता समूहलाई प्रोत्साहन, प्राविधिक तालिम र नर्सरी विकासका लागि तालिम दिने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।


