
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो, १० महिनामा करिब ८ अर्बको कारोबार



पर्सा। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै करिब ७ अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट१० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो। तुलनात्मक रूपमा हेर्दा चालु वर्षमा दलहन आयात मूल्यका आधारमा करिब २२ प्रतिशतले घटेको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार आयातमा आएको गिरावट स्पष्ट देखिएको छ। उनका अनुसार सबैभन्दा बढी मुसुरो दालको आयातमा कमी आएको छ। चालु वर्षको १० महिनामा करिब ३ अर्ब २० करोड बराबरको मुसुरो दाल आयात भएको छ भने गत वर्ष सोही अवधिमा ४ अर्ब ५० करोड बराबरको आयात भएको थियो।
त्यस्तै, सिमी र राजमा आयात पनि घटेर चालु वर्षमा २ अर्ब ४ करोडमा सीमित भएको छ, जबकि गत वर्ष यो करिब रु २ अर्ब ७४ करोड थियो। चनाको आयात पनि घटेर १ अर्ब ९२ करोडमा झरेको छ, जुन गत वर्ष २ अर्ब १७ करोड थियो।
अन्य गेडागुडीको आयात पनि सामान्य रूपमा घटेर चालु वर्षमा करिब ४२ करोडमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ। गत वर्ष यो रकम ४५ करोड ८८ लाख थियो।
भन्सार कार्यालयका अनुसार समग्रमा दलहन आयात घट्नुका कारण आन्तरिक उत्पादन वृद्धि, मूल्य उतारचढाव तथा बजार मागमा आएको परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।


