
युनाइटेड अजोडको तेस्रो वार्षिकोत्सव आज



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो मर्जरपछिको तेस्रो वार्षिकोत्सव मनाउँदै छ। यो तत्कालीन अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सफल मर्जरबाट बनेको हो। युनाइटेड इन्स्योरेन्स विगत लामो समयदेखि सञ्चालनमा रहेको ३२ वर्षीय पुरानो र अनुभवी कम्पनी थियो भने अजोड इन्स्योरेन्सले छोटो समय ७ वर्षमै आक्रामक र नवीनतम शैलीमा आफूलाई स्थापित गरेको थियो।
वि.सं. २०८० साल जेठ १४ गतेदेखि यी दुई कम्पनीले एकीकृत रूपमा कारोबार शुरु गरका थिए। मर्जर सम्झौताअनुसार शेयर स्वाप रेसियो १००ः८२.५ कायम गरेर नयाँ कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड राखिएको थियो। मर्जरको प्रारम्भिक चरणमा केही चुनौतीहरू देखिए पनि तीन वर्षको छोटो अवधिमा कम्पनीले आफूलाई बजारमा सशक्त रूपमा प्रस्तुत गर्दै जान सफल भएको छ।
मर्जरपछि कम्पनीले देशभर १०० भन्दा बढी शाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरेको छ। सुदूरपश्चिमदेखि प्रदेश कोशी प्रदेशसम्मको उपस्थिति बलियो बनाएर बीमा पहुँच विस्तारमा योगदान पुर्याइरहेको छ। कम्पनीले मोटर, स्वास्थ्य, यात्रा, सम्पत्ति, समुद्री र अन्य विभिन्न प्रकारका निर्जीवन बीमा पोलिसीहरू मार्फत ग्राहकलाई विश्वसनीय सेवा दिइरहेको छ। “युनाइटेड बाई ट्रष्ट” भन्ने नारालाई आत्मसात गर्दै दावी भुक्तानीलाई अझै छिटो, छरितो र प्रविधिमा आधारित बनाउने प्रतिवद्धता जनाएको छ।
वार्षिकोत्सवको शुभकामना सन्देश दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले कम्पनीको मेरुदण्ड भनेको कर्मचारीहरू भएको बताउँदै नेपालभर छरिएर रहेका १०० भन्दा बढी शाखाहरूमा कार्यरत कर्मचारीहरू लगायत सबैले टीमको रूपमा काम गरेर नै आजको यो दिनसम्म आइपुग्न सफल भएको बताए। ‘कर्मचारीबाट अझ हातमा हात मिलाएर सब एक ढिक्का भएर अगाडि बढ्यौं भने हामी अझ ठूलो सफलता हासिल गर्न सक्छौं।’ उनले भने।
उनले भविष्यमा झन सशक्त सेवा प्रदान गर्ने, ग्राहकवर्गलाई अझ छिटो, छरितो सेवा उपलब्ध गराउने र डिजिटल मिडियालाई प्रयोग गरेर सेवालाई जतिसक्दो चाँडो प्राविधिक बनाएर ग्राहकमैत्री बनाउन तत्पर रहेको बताएका छन्। भएका कमीकमजोरीहरू निराकरण गर्दै ग्राहकको माग बमोजिम सेवा विस्तार गरिने प्रतिवद्धता व्यक्त गरे।
त्यसैगरी कम्पनीको सञ्चालक समितिका अध्यक्ष अजाद श्रेष्ठले सरोकारवाला सबैप्रति आभार प्रकट गर्दै एउटा पुरानो र अर्काे नयाँ कम्पनीको मर्जरबाट बनेको यस कम्पनीले बीमा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आम ग्राहकमा बीमा सेवा प्रदान गर्दै आएको बताए। बजारमा आफ्नो व्यवसायलाई विस्तार गर्दै आफ्ना शेयरधनीहरूलाई हालसम्म राम्रो प्रतिफल दिन सफल यस कम्पनीले आगामी दिनहरूमा अझ उच्च प्रतिफल दिने गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।


