
महासंघको कार्यकारिणी समिति सदस्यमा दोस्रो बढी मतसहित सागर ढकाल निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को हालै सम्पन्न निर्वाचनमा वस्तुगत समूहबाट सागर ढकाल दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यस महत्वपूर्ण जिम्मेवारीमा उनको विजयलाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिएको छ ।
निर्वाचनमा प्राप्त व्यापक समर्थनप्रति आभार व्यक्त गर्दै नव–निर्वाचित सदस्य ढकालले सम्पूर्ण आदरणीय वस्तुगत अध्यक्षहरू तथा प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले यो जनसमर्थनलाई निजी क्षेत्रप्रतिको विश्वासको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ । दोस्रो उच्च मतसहितको यो समर्थनले मेरो कर्तव्यबोधलाई अझ बलियो बनाएको छ। म एफएनसीसीआई मार्फत निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछु र व्यवसायमैत्री नीति निर्माण, लगानी प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारका लागि धेरै काम गर्नेछु,” ढकालले भने ।
उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिने बताए । साथै, साना तथा मझौला उद्यम (क्:भ्क) लाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने उल्लेख गरे ।
ढकालले आफ्नो कार्यकालमा महासंघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।


