रसुवा भ्रमण गर्ने पर्यटकको संख्या २५ हजार बढी, २ करोड २८ लाख राजस्व संकलन
रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या पच्चीस हजार नाघेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म २५ हजार ५२१ जना पर्यटकले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए ।
यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला ९ हजार १०३ जना र पुरूष १६ हजार ४१८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका ६ हजार १६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, बन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको वहालबाट रु दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व संकलन गरेको जनाएको छ । निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्यांकनका आधारमा रु चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताए ।
निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाको लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ । यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवं जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ ।
गोसाईंकुण्ड जादाँ काठे–लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गरे ।
धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेदको लठ्ठी प्रयोग गर्ने भएकाले भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताए ।